मस्तिष्क



मस्तिष्कको काम सोच्ने हो । विश्लेषण गरेर सहि गलत छुट्याई सहि निश्कर्ष लिने हो । तर हामि विश्लेषण गर्ने भन्दा पनि सोच्ने काम बढी गर्दछौँ । बरु सहि गलत छुट्यादैनौ हामी , झट्ट निर्णय लिई हाल्छौँ । विश्लेषण गर्ने काममा हाम्रो अभ्यास ज्यादै कम भईरहेको हुन्छ । स-साना मुद्दाहरुमा पनि चाहिने भन्दा बढी सोचेर घण्टौ समय गुजारी रहेका हुन्छौँ ।

बढि सोच्ने भएकै कारण हामी डिप्रेसनको रोगी बन्न पुग्छौं । कहिलेकाही राम्रा अवसर र साथहरु गुमाउछौँ । आकस्मिक निर्णय लिनुपुर्व पनि सोच्नु त पर्छ नै । तर कहिलेकाही त्यतिबेला हामी चुक्ने गर्छौँ । त्यस्तो अवस्थामा हामिसंग सोच्ने समय पल भरको मात्रै हुन्छ । त्यतिबेलाको दोषलाई लिएर पश्चाताप मानिरहनु भने हुदैन ।

यदि हामिसंग प्रसस्त समय छ भने चाहिँ विश्लेषणमा समय गुजार्न सकिन्छ , तर सिमित । मस्तिष्क भनेको मोटरसाइकलको ईंजिन जस्तो लाग्छ मलाई । संतुलन राखेर चलाईराख्दा कन्डिसनमा रहने । सबै पार्टपुर्जाले राम्ररी काम गर्ने । बेलाबेला मोबिल परिवर्तन नगरी पेट्रोलकै भरमा एकतर्फि घोटियो भने ईंजिन गण्डागोल हुने ।

यसैगरि हाम्रो मस्तिष्कलाई पनि मोबिलको रुपमा संतुलित भोजन , आराम , मनोरञ्जन जस्ता सप्लिमेन्ट दिई रहनुपर्छ । त्यसको निम्ति साथी , संगिनी , आफन्तहरुसंग भेटघाट , साक्षत्कार गर्न सकिन्छ । एक्लै बस्ने , एक्लै रम्न खोज्ने व्यवहारले हामी झनझन जटिल मोड तिर जान सक्छौँ । यसको सिधा असर मष्तिष्कमा पुग्ने गर्छ । त्यहिंबाट हामी मस्तिष्कको बिरामी बन्न पुग्छौं ।

यी आधारभुत कुराहरुसंग लगभग हामी सबै जानकार छौं । यद्यपि यसमा हामी उत्ति ध्यान दिईरहेका हुदैनौ । कामको बोझ , पारिवारिक कुराहरु , अन्य व्यक्तिगत कुराहरु , अर्थ व्यवहार आदि कुराले हमेसा नै पिरोली रहेको हुन्छ । यसबाट उम्कने बाटो पनि हुदैन । संभावना पनि रहँदैन । नैतिकता र कर्तव्यको चुँगुलमा हामी बाधिएको हुन्छौ । यस्तो अवस्थाको सहि निकास भनेको आफ्नो सहयात्रीसंगको गन्थन नै हो ।

संगै यात्रा गर्ने श्रीमान , श्रीमति , सहकर्मी हुन या आफुलाई हरपल केयर गर्ने प्रेमी प्रेमिका । यी नै तपाईंको समस्याको समाधान बन्न सक्छन् । यिनीहरुको सल्लाह , सुझावबाट तपाईलाई सहि निर्णय लिने शक्ति मिल्न सक्छ । तपाईं आफ्नो मनलाई डुलाउनुहोस , संसार घुमाउनुहोस । विश्व ब्रह्माण्डको भ्रमण गराउनुहोस । भुत , वर्तमान , भविष्य सबैतिर सयर गराउनुहोस तर एकैछिनमात्र । सिमित समयावधिका लागि मात्र ।

मनलाई अस्थिर राख्नुहुदैन । सधै डुलाई रहनु हुदैन । हिजो जे जस्तो भयो , भयो । भोलि मेरो निम्ति राम्रो बनेर आउँदैछ भन्ने सोच्नुस । भोलिको अवसर र चुनौतीको सामना गर्न आफुलाई तयार पार्नुहोस । अवश्य पनि तपाईले भोलिलाई जित्नुहुनेछ । मुख्य कुरा त तपाईंको सोच नै हो । सकारात्मक सोच राख्नु भयो भने तपाईंले सकारात्मक परिणाम नै हासिल गर्नु हुनेछ ।

कथमकदाचित सोचे जस्तो भएन भने विचलित नहुनुहोस । एउटा अर्को भोलि तपाईका निम्ति सुनौलो अवसर लिएर आउने छ भन्ने सोच्नुहोस । असल सोच्नुस , असल बन्नुस , असल नतिजा पाउनुहोस । तपाईंको जय होस ।

दिनांक - २८ भाद्र , मंगलबार 
अबुधाबी

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.