"तँ कमिनीले पाउँदिनस् राहत” भन्दै निर्घात कुटपिट

९ असार , काठमाडौ  ।
भूकम्पबाट घर क्षति भएकोले राहत लिन लाइनमा बसेकी एक दलित महिलालाई राजधानी काठमाडौं मै निर्घात कुटपिट गरी घाइते बनाएको समाचार सार्वजनिक भएको छ ।

गत बैशाख २९ गते  रामकोट ४ (हाल नागार्जुन नगरपालिका-७ ) निवासी सरस्वती सुनारमाथि स्थानीय दीपक भट्टराईको परिवारले निर्घाट कुटपिट गरी घाइते बनाएको पीडितले बताएकी छिन ।

गत वैशाख २९ गते वर्ल्ड भिजन नामक संस्थाले रामकोटका भूकम्पपीडित स्थानीयलाई दुई–दुई वटा पाल र ब्ल्याङ्केट वितरण गर्ने क्रममा सुनारमाथि भट्टराई परिवारले निर्घात कुटपिट गरी घाइते बनाएको पीडित सरस्वती सुनारले बताइन् ।

“राहत आएको थाहा पाउने बित्तिकै बिहान ११ बजेदेखि लाइन बस्दा ३ बजेमात्र राहत वितरण गर्न थालिएको थियो”,पीडित सुनारले भनिन्,“बेलुकी ६ बजिसक्दा पनि राहतको लागि नाम नआएपछि अगाडि गएर बुझ्दा आफ्नो नाममा आएको राहत राजन गिरीले लिइसकेको रहेछ ।”

“मेरो नामको राहत किन अर्कैको नाम गरेको व्यक्तिले लगेको” भन्दा दीपक भट्टराईले “तैंले पाउँदिनस् त्यो राहत सरस्वती भट्टराईको हो” भन्ने जवाफ पाएको पीडित सुनारले बताइन् । त्यसपछि “खड्गबहादुर विश्वकर्माले पाउने राहत पनि ज्ञानी तामाङ भन्ने व्यक्तिले लगेपछि मेरो त अर्कैले लग्यो, खड्गको राहत पनि किन अर्कैलाई दिएको” भन्दा दीपकका छोरा दिपेशले “तँ कमिनीले पाउँदिनस् राहत” भन्दै मनपरी बोल्दै उनीहरुको परिवारले नै कुटपिट गरेको पीडित सुनारको भनाइ छ ।

कुटपिटपछि तत्कालै स्थानीय स्वास्थ्यचौकीमा उपचारार्थ लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि सुनारलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो ।

ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. विप्लव सापकोटाले कुटिएकी सुनारको देव्रे हातको माथिल्लो पाटो भाँचिएको जानकारी दिँदै त्यसलाई प्लाष्टर गर्न नमिल्ने बताए । ढाडको हड्डी र हातको पातोको बीचमा भाँचिएकोले प्लाष्टर गर्न नमिल्ने बताउँदै डा. सापकोटाले त्यसका लागि फिजियोथेरापी गर्नुको साथै औषधि सेवन गर्नुपर्ने बताए ।

पीडित सुनारले कुटपीट गर्ने भट्टराईले स्थानीय भीमढुंगा प्रहरी चौकीमा “कुटेको होइन” भनी मिलापत्र गर्न दबाब दिएको जानकारी दिँदै सुनारले आफू अब न्यायका लागि अदालत जाने तयारीमा रहेको बताइन् ।
(साभार-ईसमता)

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.