जुत्ता सिलाउनेको कथा


सोनिसा पौडेल
काम हेर्दा सबैलाई सानो लाग्छ, जुत्ता सिलाउने । धेरैले यसलाई गरिब र कमजोर आर्थिक हैसियत भएकाहरुले गर्ने कामको रुपमा लिने गरेका छन् । यसलाई नेपाली समाजमा दलित समुदायको एउटा जातिले गर्ने कामका रुपमा लिने गरिएको छ । तर, अहिले त्यो मानसिकतामा परिवर्तन भने आइरहेको छ। त्यसैले यसलाई पनि व्यवसायका रुपमा सुरु गर्नेहरु पनि छन् । तर, पुख्र्यौली पेसाका रुपमा काम गरिरहेकाहरुले भने व्यवसायिक रुप लिन कमैले मात्र सकेका छन् ।

जुत्ता सिलाउने पेसालाई धेरैले गरिबले गर्ने पेसाका रुपमा लिने गरेका छन् । अझ दलित समुदायको कुनै जातिले गर्ने काम भन्दै हेयको दृष्टिले हेर्ने चलन पनि नेपाली समाजमा छँदैछ । तर, त्यही कामबाट आफ्नो जिविका चलाउने र परिवारको हेरचाहहरु पनि यही समाजमा छन् । काभ्रे पाँचखालका देवराज सार्की २३ वर्षदेखि काठमाडौको सडकपेटीमा जुत्ता सिलाउने काम गदै आएका छन् । उनले २३ वर्ष अगाडि सिनामंगल चोक नजिकै रहेको खरिको बोटबाट यो काम सुरु गरेका थिए । र, अहिले पनि उनी त्यही खरीको बोटमुनि जुत्ता सिलाइरहेका छन् ।

उनले जुत्ता सिलाई गरेर नै आफनो परिवारको आधारभुत आवश्यकताहरु पुरा गर्ने गरेका छन् । देवराजको परिवारमा ११ जना सदस्य छन् । उनले जुत्ता सिलाई व्यवसायबाटै छोराछोरी सबैलाई पढाए भने सबैको विवाह पनि गरिदिएका छन् । सार्कीको परिवार अहिले राम्रोसँग चलिरहेको छ । समाज वा अरु कसैले के भन्छन् भन्ने चिन्ता उनलाई छैन । गलत काम गरेर खानु राम्रो होइन, काम गरेर खानु सम्मानको कुरा हो । जुनसुकै काम गर्दा राम्रो र नराम्रो भन्नेहरु समाजमा हुन्छन् । त्यस्तै अनुभव छ देवराजसँग पनि । बटुवाको व्यवहार जस्तोसुकै भए पनि उनी आफ्नो कामबाट सन्तुष्ट रहेको बताउँछन् ।

काठमाडौको चर्को घरभाडा र महङगीका कारण सामान्य घरपरिवारलाई आफनो दैनिकी चलाउन धौधौ हुने गर्छ । पुरानो जुत्ता सिलाएबापत्त उनीहरु ज्याला स्वरुप ५० रुपैयाँदेखि सय÷दुई सयसम्म लिने गर्छन । एउटा जुत्ता सिलाएको ५० रुपैयाँभन्दा माथि लिने गरेका उनीहरुले दैनिक १ हजारभन्दा बढी कमाउने गरेको देवराजको भनाइ छ ।

त्यस्तै पुख्र्यौली पेशा अंगालेका देवराज मात्र होइन सर्लाहीका राकेश महरा पनि विगत ७ वर्षदेखि जुत्ता सिलाउने काम गरिरहेका छन् । सपरिवार काठमाडौ आएपछि परिवार चलाउन आफूले यो काम सुरु गरेको उनको भनाइ छ ।

कुनै पनि काम सानो र ठुलो हुँदैन । इमान्दारिता प्रदर्शन गर्न सके जुनसुकै कामबाट पनि सफलता पाउन सकिन्छ । महरा र देवराज त्यसैका प्रतिनिधि पात्र हुन् । देवराज र महराले गलत काम गरेर समाजमा विकृति फैलाउनेहरुलाई सानो तर राम्रै काम गर्दा पनि परिवार पाल्न र सामाजिक प्रतिष्ठा कायम राख्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनीहरुबाट अरुले पनि केसी सिक्न सके धेरै नेपाली बेरोजगारीका कारण विदेशिन र गलत काममा लाग्नबाट जोगिने निश्चित छ । - साभार एबिसी टिभी 

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.