राजधानीमै किन यस्तो अपराध , आखिर कहिलेसम्म ?


मुलुक छुवाछूत मुक्त घोषणा भएको एक दशक पुग्नै लाग्दा पनि किन अझै विभिन्न बहानामा  दलितहरु कुटिईँदैछन ? छुवाछूत अन्त्यको निम्ति कानुन बनेको पनि ५ वर्ष हुन लाग्यो , जातिय विभेदलाई सामाजिक अपराधको रूपमा परिभाषित गरिएको छ । नयाँ संविधानले समेत यो कुरालाई स्विकारेको छ ।

तर किन अझै यो समाजमा शान्ता केसि र सादुराम केसिहरु फणा फैलाएर मनपरि गर्दैछन ? भर्खरै राजधानीको मुटुमै घटेको एउटा गम्भीर जातिय विभेदको घटना सार्वजनिक भएको छ । काठमाडौ टोखाकी कमला नेपालीलाई पानी खाने धारोको पाईप छोएको निहुँमा शान्ता केसि र सादुराम केसि दम्पतीले मरणासन्न हुनेगरी कुटपिट गरेका छन ।

घटना विवरण अनुसार शान्ताले कमलालाई जग्गा बेचेकी थिइन् । घर भूकम्पले क्षति भएपछि शान्ताले कमलासँगै घर बनाइ बसेकी थिइन् । शान्ताले प्रयोग गरी पानीको नलीबाट चुहिएको पानी कमलाको परिवारले प्रयोग गर्दै आएका थिए । तर पछिल्लो समयमा शान्ताले आफ्नो धाराको नलीको पानी तल्लो जातभन्दै नदिने भन्ने गरेकोले बेला बेलामा भनाभन भै रहने गर्थियो ।

यहि विषयलाई लिएर शान्ताले कमलाकै घरमा आएर कुटपिट गरेको बताईन्छ । कुटपिटपछि प्रहरीमा उजुरी नदिन केसी परिवारले गाउँलेलाई लगाएर दबाव दिएको रहस्य खुलेको छ । शान्ता र उनका पति सादुराम केसीले कमलालाई मिलेर बेहोस गर्ने गरेर कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते कमलाको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका दोषीलाई कारबाही गर्नुको साटो टोखा प्रहरीले कुटपिट गर्ने महिलालाई छाडेर घटनालाई लुकाउन खोजेको थियो  । पछि अधिकारकर्मीहरूले घटनालाई लिएर विरोध गरेपछि प्रहरीले केसी दम्पत्तिलाई हिरासतमा राखेर अनुसन्धान गरेको बुझिएको छ ।

गत फागुन ३ गते घटेको यो घटना निकै ढिला गरि मात्र सार्वजनिक भयो । यस्ता घटनाहरु गाउँसमाजमै दवाउने संस्कारको कारण पीडितहरुले न्याय पाउन सकिरहेका छैनन् । अरु त अरु राजधानी मै यस्तो घटना घटनु भनेको कत्तिसम्म लजास्पपद कुरा हो ? मुलुकको कानुनी राज खोई ? कानुन को किन यसरी धज्जी उडाईदै छ ? यस्ता घटनाको बढोत्तरी हुनुमा राज्य मुख्य दोषी हो । कानुन बनाएर पनि कार्यन्वयनमा चासो दिएको छैन । कार्यन्वयन गर्ने निकायको रूपमा रहेको प्रहरी कार्यालयबाटै पीडितहरु थप प्रताडित बन्नु परेको छ ।

मुद्दा दर्ता नगरी जबर्जस्ति समाजमै मिलाउन दवाब दिईने गरिएको छ । शक्ति र पहुँचमा न्यायको किनबेच हुने गरेको छ । आखिर कहिलेसम्म यस्तो ? दलित समुदायको नाउँ बेचेर सांसद , मन्त्री र उच्च ओहदामा पुगेकाहरु किन मौन छन् ? मानौं यिनैले यस्तो कार्य गर्न उक्साईरहेका छन् ताकी यो शिलशिला रहिरहोस र भोलि पनि यहि निरिहताको प्रमाण राखेर सत्ता र ओहदामा बस्न पाई राखुँं । यसको न्यूनीकरण भन्दै कैयन संघसंस्था र अधिकारकर्मी समेत कृयाशिल छन् । तर खोई न्यूनीकरण ? राजधानी मै यो हालत छ के होला दुरदराजका ग्रामीण बस्तिहरुको हालत ? कसले सोच्ने ?

यसको न्यूनीकरण होईन जरैदेखिको उन्मुलन चाहिएको छ । यस्तो अमानविय कुसंस्कारको अवशेष सम्म बाकि राख्न हुन्न । अहिलेको कानुन प्रयाप्त छैन । तुरुन्तै संशोधन गरेर कठोर भन्दा कठोर कानुनी प्रावधान सहितको ऐन ल्याईनुपर्छ । अन्यथा दलित सधैँ यसैगरी दलिई रहन्छन । पिल्सिई रहनेछन । दिनानुदिन कमला नेपालीहरु कुटिई रहनेछन । अरु शान्ता केसि र सादुराम केसिहरु जन्मिईरहनेछन ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.