आइईएलटिएस के हो , किन चाहिन्छ ?


इन्टरनेसनल इंग्लिस ल्यांग्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस) अंग्रेजी भाषाको दक्षता परीक्षण गर्ने भरपर्दो माध्यम हो । अंग्रेजी भाषाको दक्षता परीक्षण गर्ने अरू तरिका पनि छन् ।

नेपालबाट खासगरी दुईवटा प्रयोजनका लागि आइइएलटिएस दिने गरिन्छ । विदेश अध्ययनमा जाने विद्यार्थीका लागि तथा विदेशमा वर्क पर्मिट तथा स्थायी बसोवास (पिआर)का लागि आइइएलटिएस आवश्यक हुन्छ । आइइएलटिएसका दुईवटा विधा हुन्छन्, एउटा एकेडेमिक र अर्को जनरल । विदेश अध्ययनमा जानेले एकेडेमिक र वर्क पर्मिट तथा पिआरका लागि जनरल आइइएलटिएस चाहिन्छ । कतिपयले अंग्रेजी भाषामा आफ्नो दक्षता बढाउन पनि आइइएलटिएसको तयारी कक्षा लिने गरेका छन् । प्राय: वैदेशिक अध्ययन र कामका लागि आइइएलटिएस अध्ययन गर्ने गरेको पाइन्छ । एकेडेमिक र जनरल एक–अर्काका परिपूरक हुँदैनन् ।


तयारी कसरी गर्ने ?

आइइएलटिएसको तयारी कक्षाका लागि देशभर सयौँ कन्सल्टेन्सी छन् । ती संस्थाले तयारी कक्षा सञ्चालन गरेका छन् । तयारी कक्षामा पढाउनेले आफैँ आइइएलटिएस दिएको हुनुपर्छ । आइइएलटिएस नदिएकाले पनि तयारी कक्षा लिएको पाइन्छ, तर तयारी कक्षा लिँदा इंग्लिस ल्यांग्वेजको आवश्यक सिप भएको र आइइएलटिएस भएको राम्रो हुन्छ ।विद्यार्थी आफैँले घरमा बसेर, साथीसँग छलफल गरी वा तयारी कक्षा दिने संस्थाबाट पढ्न सक्छन् । तर, टेस्ट लिनका लागि तीनवटा संस्था मात्र आधिकारिक हुन् । तयारी कक्षा न्यूनतम चार घन्टा र अधिकतम ६ हप्ताको हुन्छ । छोटो अवधिको कोर्स पनि हुन्छ ।


टेस्ट लिने आधिकारिक संस्था

आइइएलटिएस युनिभर्सिटी अफ क्याम्ब्रिज इलोस इजामिनेसन्सले सुरु गरेको हो । अहिले युनिभर्सिटी अफ क्याम्ब्रिज इलोस एक्जामिनेसन्स, आइटिपी आइइएलटिएस र ब्रिटिस काउन्सिललाई आइइएलटिएसको टेस्ट लिने अधिकार रहेको छ । नेपालमा ब्रिटिस काउन्सिलले मात्र टेस्ट लिने गरेको छ ।

विधा र समय

आइइएलटिएसमा अंग्रेजी भाषाका चार विधा लिस्निङ, राइटिङ, रिडिङ र स्पिकिङमा परीक्षण हुन्छ । यी प्रत्येक विधामा ९ स्कोर हुन्छ । कुल ३६ स्कोर हुन्छ । त्यसको आफ्नै फम्र्याट हुन्छ । लिस्निङमा ४० वटा प्रश्न हुन्छन् । रिडिङमा ४० प्रश्न, राइटिङमा दुईवटा प्रश्न हुन्छन् र स्पिकिङमा तीन भागमा प्रश्न बाँडिएको हुन्छ । लिस्निङका लागि ३० प्लस १० गरी ४० मिनेट, रिडिङमा एक घन्टा, राइटिङमा एक घन्टा समय तोकिएको हुन्छ । स्पिकिङमा ११ देखि १४ मिनेट छुट्याइएको हुन्छ । नेपालको सन्दर्भमा भने लिस्निङ, रिडिङ र राइटिङ एकै दिन एउटै सेन्टरमा हुन्छ । तर, स्पिकिङ फरक दिन फरक टेस्ट सेन्टरमा हुने गरेको छ । अहिले स्पिकिङ ब्रिटिस काउन्सिलको आफ्नै कार्यालयमा हुन्छ ।

पढ्न र काम गर्न चाहिने स्कोर

विदेशमा आवेदनका लागि न्यूनतम ५ दशमलव ५ स्कोर ल्याउनुपर्छ । ब्याचलर डिग्री र त्यसभन्दा तल्लो तहको अध्ययनका लागि प्रत्येक विधामा ५ दशमलव ५ भन्दा तल हुनुहँुदैन । ब्याचलर वा सोभन्दा माथिल्लो तहको अध्ययनमा जानेले प्रत्येक विधामा ६ स्कोरभन्दा माथि ल्याएको हुनुपर्छ । युनिभर्सिटी र आफूले पढ्न जाने कार्यक्रमअनुसार फरक–फरक स्कोर आवश्यक हुनसक्छ ।वर्क पर्मिट वा पिआरका लागि आवेदन गर्न चाहेका देश र उद्देश्यअनुसार स्कोर फरक हुनसक्छ । धेरैजसो देशमा पिआरका लागि हरेक विधामा न्यूनतम ६ स्कोर चाहिन्छ । आइएलटिएसको मान्यता दुई वर्षसम्म हुन्छ ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.