‪‎कांग्रेस अधिवेशनलाई हेर्दा‬


१५ गते संपन्न कांग्रेसको गाउँ तथा नगर अधिवेशनको परिणामलाई हेर्दा केही आश्चर्यजनक चमत्कारहरु देखिए । विगत देखि रहँदै आएको संस्थापन र प्रजातान्त्रिक बिचको गुटबन्दी यसपल्ट पनि सतहमा आयो ।

सामाजिक संजालहरुमा आएका क्रिया-प्रतिक्रिया र संबंधित क्षेत्रकै नेता-कार्यकर्ताको धारणाले पनि यसलाई प्रष्ट पारेको छ । तर यसपटक केही यस्ता चमत्कार देखिए जुन आम नेताकार्यकर्ताको आंकलन भन्दा बिल्कुल अलग रह्यो । मुलुकभरको परिणाम हेर्दा देउवा पक्ष निकै कमजोर भएको अनुभुत हुन्छ । देउवा पक्षको बाहुल्यता भएको भनिएको क्षेत्रमा समेत यसपालि कोईराला पक्षको वर्चस्व रह्यो ।

धेरै क्षेत्रहरुमा देउवा पक्षले आफ्नो विगतको साख गुमाउनु परेको छ । अर्को एउटा ज्यादै सकारात्मक र रोमाञ्चक पक्ष पनि छ । अधिकांश क्षेत्रमा युवा प्रतिनिधिको उपस्तिथि भयो । लामो समयदेखी अधिवेशन नभएर थन्किएका भातृ संगठनका युवा नेताहरुको ह्वात्तै पदार्पण भएको छ । नेविसंघ , तरुण दल , महिला संगका अधिकांश नेताहरु गाउँ , नगर र क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । यसलाई निकै सुखद मान्नुपर्छ ।

उसो त केन्द्रिय नेतृत्वमा समेत युवा नेताहरूले उम्मेदवारी घोषणा गरिसकेको अवस्था छ । ईकाई स्तरको अधिवेशनबाट प्राप्त परिणामले केन्द्रिय नेतृत्वका आकांक्षी युवा नेताहरुलाई थप उत्साहित पारेको बुझ्न सकिन्छ । यसबाट नेतृत्वमा युवाको सहभागिता सुनिश्चित हुन्छ भन्ने कुरामा समेत बल पुगेको महसुस गर्न सकिन्छ । र अबको आवश्यकता पनि त्यही नै हो ।

पार्टीलाई अहिलेको यो अवस्थासम्म ल्याई पुर्‍याउन अहोरात्र योगदान पुर्‍याउने अग्रज पुस्तालाई सम्मानजनक बिदाई गर्दै अब युवापुस्ताको आगमन हुन आवश्यक छ । पार्टीलाई आधुनिक र वैज्ञानिक बनाउन यस्तो परिवर्तन अपरिहार्य छ । यसलाई आत्मसात गर्दै सम्पुर्ण नेता , कार्यकर्ता सांगठनिक सुदृढीकरणको अभियानमा लाग्ने बेला भएको छ ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.